Sagun Khabar
समृद्ध समाजको लागि गुणस्तरीय शिक्षा आवश्यक : कानुन मन्त्री भट्ट

बैतडी –सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले समृद्ध समाजको लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताएका छन् । बैतडीको मेलौली नगरपालिका २ स्थित केदारेश्वर मावि दुर्गास्थानको ७१ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टले समाज परिवर्तनका लागि शिक्षा आवश्यक कुरा भएको बताए । 

पछिल्लो समयमा किशोरावस्थाका मानिसहरु समेत लागू औषध दुव्र्यसनमा फसेको भन्दै मन्त्री भट्टले यो निकै चिन्ताको बिषय रहेको बताए । आफ्ना बालबालिकाहरु कस्तो बाटोमा गइरहेका छन् भन्ने बिषयमा अभिभावकहरुले समेत ध्यान दिनुपर्नेमा मन्त्री भट्टले जोड दिए । उनले भने ‘हामीले हाम्रा बालबालिकाहरुलाई कस्तो शिक्षा दिइरहेका छौं । हाम्रा बालबालिकाहरु कुन बाटो हिँडीरहेका छन् । यो बिषयमा अभिभावकहरुको समेत ध्यान जानु आवश्यक छ ।’

लागू औषध दुव्र्यसनले समाज अधोगतितिर लाग्ने भन्दै मन्त्री भट्टले यस्ता खालका विकृति रोक्न समाजका सबै वर्ग लाग्नुपर्नेमा जोड दिए । 

यस्तै केदारेश्वर माविमा क्याम्पस स्थापनाको पहल भइरहेको भन्दै मन्त्री भट्टले यसमा आफूले सक्दो पहल गर्ने दाबी गरे । उनले भने ‘यो क्षेत्रमा उच्च शिक्षाका लागि क्याम्पस स्थापनाको पहल भइरहेको छ । यसमा मैले सक्दो सहयोग गर्नेछु । सुदूरपश्चिम विश्वविद्यालयबाट यो क्षेत्रमा क्याम्पस स्थापनाका लागि सम्बन्धन प्राप्त हुने विश्वास लिएको छु ।’

केदारेश्वर माविको चौतर्फी विकासका लागि मन्त्री भट्टले प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

शुक्रबार गृह जिल्ला बैतडी पुगेका मन्त्री भट्टले भोलिदेखि पाटन–पञ्चेश्वर सडक अनुगमनको कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । 

यस्तै मन्त्री भट्टले पौष १८ गते उग्रतारा –मेलौली सडकको अनुगमन गर्ने कार्यक्रम रहेको छ भने पौष १९ गते जिल्ला सदरमुकाममा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । 

मन्त्री भट्ट पौष २० गते धनगढी फर्कने कार्यक्रम रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update