बैतडी–बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे जोड्ने सडक निर्माणको माग राख्दै गठन भएको संघर्ष समितिले दुदिलाखान –गाँजरी सडक बन्द गर्ने घोषणा गरेको छ ।
दुदिलाखान–गर्जे सडक संघर्ष समितिले कुर्चेनेटा हुँदै गाउँपालिकाको केन्द्र गर्जे जोड्ने सडक यथाशीघ्र निर्माण हुनुपर्ने माग राखेको भएपनि आफ्ना मागहरुप्रति सुनुवाई नभएकाले सडक बन्द गर्ने अवस्था सिर्जना भएको संघर्ष समितिका अध्यक्ष पवन चन्दले बताए ।
सिगास गाउँपालिका वडा नं १ का स्थानीयहरुले गठन गरेको संघर्ष समितिको बैठकले पौष १६ अर्थात सोमबारदेखि दुदिलाखान–गाँजरी सडकमा सवारी साधन चल्न नदिने निर्णय गरेको छ ।
गाउँपालिकाको केन्द्र गर्जे जानका लागि ९÷१० घण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेकाले आफूहरुले छिटो भन्दा छिटो सडक निर्माणको माग राखेको संघर्ष समिति अध्यक्ष चन्दले बताए ।
सिगास गाउँपालिकाको केन्द्र जोड्नका लागि गाँजरीदेखि कुर्चेनेटा सम्म सडक पुगेको छ । उक्त सडक निर्माणमा स्थानीयहरुको विरोध भएपछि कुर्चेनेटामै रोकिएको छ । कोटिला–धौलाडी हुँदै गर्जे जोड्ने सडक कडा चट्टानका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन् ।
सिगास गाउँपालिका वडा नं १ र २ का बासिन्दालाई गाउँपालिकामा पुग्न निकै असहज भइरहेको स्थानीयहरुको भनाइ छ । तत्काल गाउँपालिका जोड्ने सडक निर्माणको माग राख्दै संघर्ष समितिले यसअघि गाउँपालिका, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा समेत ज्ञापन पत्र बुझाएको थियो । आफूहरुको माग सुनुवाईका लागि कुनै पहल नभएपछि सडक बन्द गर्ने निर्णयमा पुगिएको अध्यक्ष चन्दले बताए ।
तत्काल दुदिलाखान–गाँजरी सडकमा आकस्मिक सवारी साधन चल्न दिने निर्णय भएपनि ५ दिनसम्म समेत आफ्ना मागहरुको सुनुवाई नभएमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने अध्यक्ष चन्दले बताए ।
गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण नहुने अवस्था रहेमा वडा नं १ लाई पाटन नगरपालिकामा गाभिदिन समेत अनुरोध गरेको संघर्ष समितिले जनाएको छ ।





