बैतडी–सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बैतडीको पाटन–पञ्चेश्वर सडकको अनुगमन गरेका छन् । शुक्रबार गृह जिल्ला बैतडी पुगेका मन्त्री भट्टसहितको टोलीले आइतबार पाटन–पञ्चेश्वर सडकको जिरो प्वाइन्टदेखि मेलौली सम्म अनुगमन गरेको हो ।
उक्त सडकको जिरो प्वाइन्टमा अझै कालोपत्रे हुन सकेको छैन् । जिरो प्वाइन्टदेखि साढे तीनकिलोमिटर सडक भर्खरमात्रै पूर्वाधार विकास कार्यालय मातहत आएको छ । उक्त सडक स्तरोन्नतीका लागि स्टमेट तयार भएको भएपनि बजेटको भने अभाव रहेको छ ।
सडक धुलाम्य हुँदा बस्तीमा असर परेको भन्दै जिरो प्वान्इटमा स्थानीयबासीहरुले सडक अवरुद्ध गरेका छन् । उक्त सडक कालोपत्रेका लागि बजेटको व्यवस्थापन गर्ने मन्त्री भट्टले आश्वासन दिएका छन् । पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री भट्टले कार्यालयमार्फत सञ्चालनमा रहेका योजनाहरु तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरेका छन् ।
यस्तै मन्त्री भट्टले आजै उग्रतारा –मेलौली सडकको पनि अनुगमन गरेका छन् । डडेल्धुराको उग्रतारादेखि बैतडीको मेलौली सम्म १२ किलोमिटर लम्बाइ रहेको उक्त सडकको ७ किलोमिटर कालोपत्रे गरिएको छ । उक्त सडकमा साढे चार किलोमिटर अझै ट्रयाक खोल्न बाँकी रहेको पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले जानकारी दिए ।
उक्त सडकमा पर्ने सामुदायिक वनभित्रको रुख कटानीको आदेश नभएकाले ट्रयाक खोल्न बाँकी रहेको बताइएको छ । मन्त्री भट्टले सडक निर्माणमा देखिएको अवरोध हटाउन आफूले पहल गर्ने बताए ।
यस्तै मन्त्री भट्टले भोलि (सोमबार) पाटन –पञ्चेश्वर सडक अन्तर्गत मेलौली–पञ्चेश्वर खण्डको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
मेलौलीदेखि पञ्चेश्वर सम्मको २५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । २०७७ सालदेखि कन्काइ–कुमार–केएस जेभीले उक्त सडकमा कालोपत्रेको काम गरिरहेको छ । ४१ करोडमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अहिलेसम्म ६५ प्रतिशत काम सम्पन्न गरिसकेको इन्जिनियर भुलले बताए ।
२०८१ असार मसान्तसम्म ठेक्का सम्झौता म्याद रहेकाले निर्माण कम्पनीलाई समयमै काम सक्ने चुनौती भने रहेको छ । अझै ३५ प्रतिशत काम बाँकी रहेकाले तोकिएकै समयमा सडक कालोपत्रेको काम सकिनेमा आशंका रहेको छ ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर भुलले भने तोकिएकै समयमा काम सम्पन्न गर्ने गरेर आफूहरुले पहल गरिरहेको बताए ।




