Sagun Khabar
बालविवाह र लैंगिक हिंसा रोक्न ‘धामी समूह’ सक्रिय 

बैतडी –बैतडीमा बालविवाह तथा लैंगिक हिंसा न्यूनीकरणका लागि धामी समूह सक्रिय भएको छ । जिल्लाको पाटनमा गठन भएको प्रतिष्ठित धामी समूहले बालविवाहजस्ता हानिकारक प्रचलन रोक्नका लागि सक्रियता देखाएको हो । प्रतिष्ठित धामी समूहमा आवद्ध सदस्यहरुले बालविवाहले हुने असरका बारेमा गाउँगाउँमा जानकारी दिने गरेका छन् । 

प्रतिष्ठित धामी समूहले केही बर्ष पहिला बैतडीका ८ ओटा पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको समूहका सचिव हरिप्रसाद जोशीले बताए । बालविवाहले पार्ने असरका बिषयमा धार्मिक अगुवाहरुले जानकारी दिनुपर्ने भएकाले आफूहरु गाउँगाउँमा पुगेको उनले बताए । उनले भने ‘धर्ममा बालविवाह नगर भनेको छ । सोही कुराको प्रचारप्रसार गर्ने गरिरहेका छौं ।’

Atrya hospital

प्रतिष्ठित धामी समूहले बालविवाह, महिला हिंसा लगायतका हानिकारक प्रचलन अन्त्यका लागि लामो समयदेखि सचेतना फैलाइरहेको समूहका सहसचिव भानदेव भट्टले बताए । समाजमा रहेका कुप्रथा र हानिकारक प्रचलन हटाउन आफूहरु सक्रिय रहेको उनले बताए । उनले भने ‘हानिकारक प्रचलन अन्त्यका लागि विभिन्न कानुनहरु बनेका छन् । यी कानुनहरुको बिषयमा समेत सबैलाई जानकारी गराउन आवश्यक छ ।’

बालविवाहजस्ता हानिकारक प्रचलन हटाउनका लागि अहिले थुप्रै प्रयास भइरहेका र यसमा धार्मिक अगुवाहरुको समेत साथ रहेको एकजना पूजारी लवदेव जोशीले बताए । उनले भने ‘सामाजिक, आर्थिक लगायतका विभिन्न कारणहरुले बालविवाह भइरहेका छन् । यी सबै बिषयहरुको निराकरण गर्नेतर्फ लाग्नुपर्ने हुन्छ ।’

सामाजिक विकास कार्यालय बैतडीले बालविवाह, महिला हिंसा लगायतका हानिकारक प्रचलन अन्त्यका लागि धार्मिक अगुवाहरुसंग गरेको अन्तरक्रियामा सहभागी भएका धार्मिक अगुवाहरुले यसका लागि प्रतिष्ठित धामी समूहले पहिलादेखि काम गरिरहेका बताएका छन् । 

समाजमा रहेका हानिकारक प्रचलन अन्त्यका लागि आफूहरु सदैव सक्रिय रहेको कार्यक्रममा सहभागी भएका प्रसिद्ध वनारसी देवताका धामी झुले लुहारले बताए । बालविवाह पहिलाको तुलनामा कम भएको बताउँदै उनले यसको न्यूनीकरणका लागि समाजका सबै वर्ग सक्रिय हुनुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update