Sagun Khabar
बैतडीमा विकासको गति गिज्याउने पुल, नौ वर्ष सम्म भएन् निर्माण कार्य पुरा !

बैतडी- बैतडीमा निर्माण सुरु भएको नौ वर्ष सम्म  मोटरेबल पुल बन्न सकेको छैन् ।  पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत सुर्नया गाडको त्रिपुरेश्वरमा निर्माणाधिन मोटरेबल पुल ९ वर्ष  बितिसक्दा पनि निर्माण सम्पन्न नभएको  हो ।

आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर ३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिलेसम्म पूर्णता पाउन सकेको छैन् । सडक डिभिजन, निर्माण व्यवसायी लगायतका सरोकारवाला निकायको  चरम लापरबाहीले  पुलले  पूर्णता नपाएको  नागरिकहरुको आक्रोस छ । निर्माणको  जिम्मा पाएको  एसके निर्माण सेवा कम्पनीले पाँच पटक म्याद थप गर्दा पनि निर्माण गर्न नसकेको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

पुल नहुँदा वर्षातको समयमा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी घण्टौँ पैदल हिड्नुपर्ने कैलपाल सकारका स्थानीयहरुको बाध्यता  छ । सडक सञ्जाल बिस्तार भएपनि वर्षातमा मोटरेबल पुलकै अभावका कारण समस्या हुने स्थानीयहरुको भनाई छ । मोटरेबल पुल निर्माण नहुँदा पाटन नगरपालिका १ र ७ का नागरिकहरुलाई बढी समस्या  छ।  

२ करोड ९३ लाख ६७ हजार ८ सय ५५ रुपैँयाको लागतमा निर्माण भइरहेको पुल अझै सम्पन्न नहुँदा निर्माण कम्पनीका ठेकेदार र सडक डिभिजनको अहिले चर्काे  आलोचना भइरहेको छ । निर्माण कार्य प्रारम्भ गरेको लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीय नागरिकहरु  पनि आक्रोशित बनेका हुन् । ९ वर्ष सम्म निर्माण सम्पन्न नभएको  पुलको  निर्माण कार्य अहिले ठप्प छ ।  

सडक डिभिजन कार्यालय पाटन बैतडीले ५८ प्रतिशत भौतिक प्रगति भएको दाबी गरेको  छ । झण्डै तीन करोड लागतको पुलमा २ करोड खर्च भैसकेको बताइएको छ  । तर पुलको निर्माण कार्य अझै सम्पन्न भएको  छैन् । पुलले  विकासको गतिलाई गिज्याइरहे पनि सम्पन्न गराउन तर्फ सरोकारवाला निकाय उदासिन बनेका छन् ।

यो  पुलमा प्रत्येक वर्ष असारमा निर्माण सम्पन्नको लक्ष्य राखेर काम गरिन्छ । सम्पन्न भने अहिले  सम्म हुन सकेको  छैन् । यो बर्ष पनि काम छिटो सम्पन्न गर्ने ताकेता पत्र दिइएको सडक डिभिजन बैतडीले  जनाएको छ । काम सम्पन्न गर्न ठेकेदारलाई ताकेता पत्र पठाएको र यो वर्ष पनि निर्माण सम्पन्न नभए ठेक्का रद्ध गरिने सडक डिभिजन पाटनका प्रमुख मुकुन्द  प्रशाद लामिछानेले बताए । 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update