Sagun Khabar
बैतडीको मुडापमा लिफ्टिङ सिँचाइ योजना निर्माण , किसानहरुलाई फाइदा 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ मुडाप गाउँमा लिफ्टिङ सिँचाइ योजना सञ्चालनमा आएपछि किसानहरुलाई सहज भएको छ । व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुको सहजताका लागि लिफ्टिङ सिँचाइ योजना निर्माण गरिएको हो । 

अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीद्वारा सञ्चालित ग्रीन परियोजना अन्तर्गत करीब साढे तीन लाखको लागतमा लिफ्टिङ सिँचाइ योजना निर्माण गरिएको रुडेस बैतडीका कार्यक्रम संयोजक अशोक चन्दले बताए । 

मुडापमा गठन भएको रघुदेव महिला सशक्तीकरण केन्द्रमा आवद्ध सदस्यहरुको जिविकोपार्जनमा सहयोग पुर्याउन र जलवायुमैत्री नमूना गाउँ निर्माण गर्ने योजना अन्तर्गत लिफ्टिङ सिँचाइ योजना निर्माण गरिएको चन्दले बताए । उनले भने ‘हामीले सशक्तीकरण केन्द्रका सदस्यहरुको मागमा आधारित रहेर लिफ्टिङ सिँचाइ योजना निर्माण गरेका हौं । यो योजनाले मुडापका किसानहरुलाई फाइदा भएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँबाट साढे तीनसय मिटर तल रहेको खोलाबाट गाउँमा सिँचाइका लागि पानी ल्याइएको रुडेस बैतडीका लेखा अधिकृत दिनेशप्रसाद जोशीले बताए । गाउँमा सिँचाइ योजना निर्माण भएपछि व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुलाई सहज भएको उनले बताए । 

सिँचाइको अभावमा हिउँदमा तरकारी खेती गर्न समस्या भइरहेका बेला लिफ्टिङ सिँचाइ योजनाले महत्वपूर्ण सहयोग पुगेको रघुदेव महिला सशक्तीकरण केन्द्रकी संयोजक हीरा भाटले बताइन् । उनले भनिन् ‘हाम्रो गाउँमा सिँचाइको अभाव थियो । रुडेसले सञ्चालन गरेको ग्रीन परियोजनाले हामीलाई सिँचाइमा सहयोग गरेको छ । यसले हामीलाई तरकारी खेतीमा लाग्न झन् प्रेरित गरेको छ ।’

गाउँमा लिफ्टिङ सिँचाइ योजना निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् । अब सिँचाइको अभाव हटेको स्थानीय राधा भाटले बताइन् । उनले भनिन् ‘हामीले लामो समयदेखि तरकारी खेती गर्दै आएका छौं । पछिल्लो समयमा रुडेसले गरेको सहयोगले हामीलाई धेरै फाइदा भएको छ ।’

मुडापमा जलवायुमैत्री नमूना गाउँ निर्माणका लागि रुडेसले लिफ्टिङ सिँचाइका साथै किसानहरुलाई पोली हाउस समेत दिएको छ । नेट जालीसहित ११ जना किसानलाई पोलिहाउस सहयोग गरिएको कार्यक्रम संयोजक चन्दले बताए । 

यस्तै सोही कार्यक्रम अन्तर्गत १५ ओटा गोठ सुधार गरिएको छ भने २० ओटा घरमा सरसफाइका लागि जुठ्यान निर्माण गरिएको छ । 

लिफ्टिङ सिँचाइ योजनाको सोमबार उद्दघाटन गर्दै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले यस्ता कार्यक्रमहरुले ग्रामीण क्षेत्रका किसानहरुलाई सहयोग पुग्ने बताइन् । रुडेसले गरेको कार्यक्रमले ग्रामीण महिलाहरुलाई सशक्त बनाउन सहयोग गरेको उनले बताइन् । उनले भनिन् ‘ग्रामीण महिलाहरुलाई सशक्त र व्यवसायिक बनाउन रुडेसले गरेको सहयोग महत्वपूर्ण छ । यस्ता कार्यक्रममा पालिकाकातर्फबाट पनि आवश्यक सहयोग हुन्छ । यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु आवश्यक छ ।’

सिँचाइ योजना उद्दघाटन कार्यक्रममा पुगेका दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले सिँचाइ सुविधा नभएका ठाउँमा लिफ्ट सिँचाइ योजनाले सहयोग पुग्ने बताए । व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका किसानहरुलाई यस्ता कार्यक्रमहरुले सहयोग पुगेको उनले बताए । 

Lift-1a-1710823952.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update