Sagun Khabar
बैतडीमा बिरभान हत्या प्रकरण : थप दुईजना पक्राउ 

बैतडी –बैतडीको पाटन नगरपालिका ६ घर भएका ५१ बर्षीय बिरभान बिष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पाटन नगरपालिका १ का राजेन्द्र भट्टराई र सोही ठाउँका किशोर भट्टराईलाई प्रहरीले सोमबार दिउँसो डडेल्धुराको भत्काँडाबाट पक्राउ गरेको हो । 

बिष्टको हत्या आरोपमा पक्राउ परेकी पाटन नगरपालिका ६ की ३६ बर्षीया भागरथी बिष्टको प्रारम्भिक बयानको आधारमा थप दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । थप एकजना अझै फरार रहेका प्रहरीले जनाएको छ । 

Atrya hospital

असार १ गते रातिबाट हराएका बिरभान बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका ६ स्थित घाङल खोलामा फेला परेको थियो । 

सहस्त्रलिंग आधारभूत विद्यालयमा कार्यरत शिक्षिका समेत रहेकी भागरथीले बिरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । 

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । 

मृतक बिष्ट असार १ गतेदेखि सम्पर्कविहिन भएपछि घरपरिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएको थियो । बिष्ट ट्रक चालक समेत रहेका बुझिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update