Sagun Khabar
बैतडीमा पनि मनाइयो ‘सिटिभीटी डे’

बैतडी–बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर ‘सिटिभीटी डे’मनाइएको छ । यही फागुन ९ देखि १२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयले ‘सिटिभीटी डे’ मनाएको हो । 

दिवसको अवसरमा फागुन ९ गते सामुदायिक विद्यालयका विद्यार्थी सहभागी रहेको निबन्ध प्रतियोगिता सम्पन्न गरिएको छ । प्राविधिक तथा व्यवसायिक शिक्षा, तालिमको महत्व र आवश्यकता बिषयक निबन्ध प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत चार जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षालयका प्रमुख जीवनदत्त पन्तले बताए । 

यस्तै दिवसको अवसरमा विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन गरिएको पन्तले बताए । भलिबल, म्युजिकल चेयर, हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न गरिएका उनले बताए । 

यस्तै फागुन ११ गते शिक्षालयदेखि पाटन एयरपोर्ट सम्म सरसफाइ गरिएको थियो । उक्त कार्यक्रममा शिक्षालयका प्रशिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

सोमबार औपाचारिक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको शिक्षालय प्रमुख पन्तले बताए । उत्पादनमुखी प्राविधिक शिक्षा आजको आवश्यकता नारासहित दिवस मनाइएको हो । 

दिवसका अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रममा र शिक्षालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको पन्तले बताए । उक्त कार्यक्रममा पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टको उपस्थिती रहेको थियो । 

२०७५ सालमा स्थापना भएको भीमदत्त बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन एग्रीकल्चर बिषयको पढाइ हुँदै आएको छ । 

सरकारीस्तरबाट सञ्चालित शिक्षालयमा देशैभरीबाट अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका पन्तले बताए । अहिले पनि साढे तीनसय जति विद्यार्थीहरु शिक्षालयमा अध्ययनरत रहेका छन् । 

स्थानीयस्तरमै प्राविधिक शिक्षा पढ्न पाउँदा यो क्षेत्रका विद्यार्थीहरुलाई सहज भएको शिक्षालय प्रमुख पन्तले बताए । प्राविधिक शिक्षा ग्रहण गर्नका लागि लाखौं खर्च गरेर अन्यत्र जाने बाध्यताको अन्त्य हुनुका साथै स्थानीयस्तरमै सरकारी शिक्षालयमा पठनपाठन हुँदै आएको पन्तले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update