
बैतडी –त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बैतडीका क्याम्पसहरुमा स्ववियु चुनावको सरगर्मी बढेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका ल्याएपछि क्याम्पसहरुमा चुनावी सरगर्मी बढेको हो ।
बैतडीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ७ ओटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने भएको छ । ती क्याम्पसहरुमा अहिले विद्यार्थी संगठनहरुले आफ्नो संगठन दर्ताको काम गरिरहेका बताइएको छ ।
विश्वविद्यालयको कार्यतालिका अनुसार क्याम्पसमा स्ववियु चुनावको तयारी भइरहेको सेटीगाउँ बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र जोशीले बताए ।स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरुले आफ्नो संगठनलाई सम्बन्धित क्याम्पसहरुमा दर्ता गरेका बताइएको छ ।
अधिकांश क्याम्पसहरुमा नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले स्ववियु चुनावका लागि संगठन दर्ता गराएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने बैतडीका सातओटै क्याम्पसमा संगठन दर्ता गराएको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष दिपेन्द्र ढुंगालले बताए । यस्तै अनेरास्ववियुले पनि सातओटै क्याम्पसमा आफ्नो संगठन दर्ता गरेको अनेरास्ववियु बैतडीका अध्यक्ष दिव्यबीर योगीले बताए ।
यस्तै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने सबै क्याम्पसमा आफ्नो संगठनले संगठन दर्ता गराएको अनेरास्ववियु (क्रान्तिकारी) बैतडीका अध्यक्ष सनम धामीले बताए ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि क्याम्पसहरुले पनि आन्तरिक तयारी गरिरहेका छन् । केही दिनभित्रै अन्तिम मतदाता नामावली प्रकाशन गरिने सेटीगाउँ बहुमुखी क्याम्पसका प्रमुख जोशीले बताए । अन्य क्याम्पसहरुले पनि मतदाता नामावली प्रकाशनको तयारी गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युुनियनको चुनाव नजिक आएपछि विद्यार्थी संगठनहरुले क्याम्पस केन्द्रित गतिविधिहरुलाई बढाएका छन् ।
बैतडीका सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर, पुर्चौडी बहुमुखी क्याम्पस पुर्चौंडी, श्रीकोट बहुमुखी क्याम्पस खोचलेक, शिक्षा क्याम्पस शाहीलेक, नवप्रभात संयुक्त क्याम्पस कुलाउ, ग्राम प्रकाश बहुमुखी क्याम्पस शर्माली र सिगास शिक्षा क्याम्पस गाँजरीमा स्ववियु निर्वाचन हुने बताइएको छ । यी सातओटै क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर सञ्चालनमा रहेका छन् ।