
दार्चुला –सुदूरपश्चिमको विकट हिमाली जिल्लाको रुपमा रहेको दार्चुलामा आयोडिनयुक्त नुनको सहज उपलब्धता हुन थालेको छ ।
यस अघि आयोडिनयुक्त नुन सहजै नपाउने यहाँका नागरिक गोकुलेश्वरमा साल्ट ट्रेडिङ कर्पोरेसनको डिपो स्थापना भएपछि सहजै आयोडिनयुक्त नुन पाउन थालेका हुन् ।
अहिले दार्चुलाको खलंगा र गोकुलेश्वर गरेर दुई ठाउँमा साल्ट ट्रेडिङको डिपो कार्यालय रहेको छ भने विभिन्न ठाउँमा विक्रि केन्द्रहरु सञ्चालनमा ल्याइएका छन् । विक्रि केन्द्रहरुबाट समेत आयोडिनयुक्त नुनको विक्रि हुन थालेपछि नागरिकहरुको आयोडिनयुक्त नुनमा पहुँच भएको हो ।
व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाका स्थानीयहरुलाई गाउँघरमै आयोडिनयुक्त नुन उपलब्ध गराउन व्याँस गाउँपालिका–४ सुनसेरा र दुहुँ गाउँपालिका–५ गरमोरामा विक्रि केन्द्र स्थापना गरिएको साल्ट ट्रेडिङ डिपो कार्यालय खलंगाका इञ्चार्ज प्रेमसिंह कुँवरले बताए ।
गोकुलेश्वर डिपो अन्तर्गत अपिहिमाल गाउँपालिका–५को ओखल, वडा नम्बर ४ को खण्डेश्वरी, नौगाड गाउँपालिकाको होपरीगाड र मालिकार्जुन गाउँपालिकाको पस्ती बिक्री केन्द्रबाट नुन बिक्रीवितरण भइरहेको गोकुलेश्वर डिपोका इन्चार्ज लक्ष्मणसिंह धामीले जानकारी दिए ।
गोकुलेश्वर डिपोबाटै बैतडीको डिलाशैनी गाउँपालिकाका स्थानीयले समेत आयोडिनयुक्त नुन उपभोग गरिरहेका उनले बताए ।
गोकुलेश्वर डिपोबाट दैनिक २० देखि २५ क्विन्टल तथा खलङ्गा डिपोबाट दैनिक १५ देखि २० क्विन्टल आयोडिनयुक्त नुन बिक्रीवितरण हुने गरेको बताइएको छ ।