
दार्चुला – सदरमुकाम खलङ्गामा रहेको वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा स्थानीय बासिन्दा तथा राजनीतिक दलले विरोध गरेका छन् । २०७० सालको बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।
नेपाली भू–भागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
नेपाली भूमि मात्र नभई नदीको धार नै परिवर्तन हुनेगरी तटबन्ध निर्माण भइरहेकाले त्यसलाई रोक्न प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए ।
महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको क्षेत्रमा अन्तरर्राष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष घर्तीले त्यसलाई रोक्न माग गरेका छन् । भारतले निर्माण गरिरहेको तटबन्धका सम्बन्धमा तत्काल कूटनीतिक पहल थाल्न आफूले पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।