Sagun Khabar
यू–१६ बैतडी छनौट : एनसीसीले उपाधि जित्यो

बैतडी –एनसीसी मेन्स यू–१६ इस्ट जोन कपअन्तर्गत जिल्ला छनौटको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी)ले हात पारेको छ ।

बैतडीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पाटन भ्याली क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै एनसिसी च्याम्पियन बनेको हो । 

एनसिसीले दिएको ९५ रनको लक्ष्य पछ्याएको भ्याली १२ दशमलव पाँच ओभरमा ६३ रनमा समेटियो । भ्यालीका अमन विष्टले २४ रनको योगदान दिए भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

एनसिसीका रोशन बोहरा र शिरिष बोहराले तीन÷तीन र नविनसिंह भाटले दुई विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट रङ्गशाला सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एनसिसीले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा ९४ रन बनाएको थियो ।  एनसिसीका कृष्ण बोहराले अविजित ४७ रन जोड्दा, विक्रम बोहराले १९ रन हिर्काए ।

बलिङतर्फ भ्यालीका तेजकिरण विष्टले तीन विकेट लिए । एनसिसीका रोशन बोहरा प्लेयर अफ द फाइनल चुनिएका आयोजकले जनाएको छ । 

विजेता र उपविजेता टोलीलाई सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेशबहादुर बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, सचिव सिद्धराज बोकटीलगायतले पुरस्कार वितरण गरेका छन् । 

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा गत वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका सात टिमको सहभागिता थियो । 

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिनेछ । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एनसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि यही जेठमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दैछ ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update