Sagun Khabar
दार्चुलाको टिंकर नाका तीन दिनका लागि खुल्दै 

दार्चुला –दार्चुलाको व्याँस गाउँपालिका –१ स्थित नेपाल –चीन सीमा नाका साउन ७ देखि ९ गते सम्म खुल्ने भएको छ । चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेको स्थानीय प्रशासनले छाङरु र टिङ्करका व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएपछि टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर सीमानाका खुल्ने भएको हो । नाका खुल्ने भएपछि यहाँका व्यापारी  चीनको ताक्लाकोट जाने तयारीमा छन् । 

चीनको तिब्बतमा रहेको स्थानीय प्रशासनले व्याँस गाउँपालिकाका छाङरु,तिङकरका व्यापारीलाई तीन दिनका लागि खुल्ने जानकारी गराएको व्याँस गाउँपालिका –१ का दानसिंह टिंकरीले बताए । 

नाका खुल्ने जानकारी पाएपछि व्याँस –१ छाङरु टिङकरका स्थानीयले नेपाल चीन सिमास्तम्भ १ नम्बर पिलर भन्दा ५÷६ किलोमिटर तल डोङ्काट, टाटामा चीनको तिब्बत लैजाने सरसमान राखेका छन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांक अनुसार यो बर्ष दार्चुला जिल्लाबाट चीन तिब्बत जानको लागि व्याँँसका ५६ जनाले र व्याँस बाहेकका दार्चुलाका अन्य स्थानीय तहका ४९ जनाले नयाँ पास बनाएका छन् । गत बर्ष चीन तिब्बत प्रवेश अनुमतिपत्र बनाएका व्याँसका  १४३ जना र व्याँस बाहेक दार्चुलाका अन्य स्थानीयतहका ८ जना गरि जम्मा १५१ जनाले यो बर्ष चीन तिब्बत प्रवेश अनुमतिपत्र नविकरण गरेका छन् ।

चीनले टिंकर भञ्ज्याङस्थित १ नम्बर सीमास्तम्भ नजिकसम्म सडक निर्माण गरेको छ । चीनले सीमास्तम्भ भन्दा आधा घण्टाको दूरीमा सापु भन्ने ठाउँमा आफ्ना सुरक्षाकर्मी बस्ने भवनको संरचना पनि निर्माण गरेको र सुरक्षाकर्मीको भवन र पोष्टको संरचनामा यात्रुलाई चेकजाँच गर्ने मेसिन र उपकरण जोडेको छ । छाङरु तिङकरका स्थानीयका अनुसार नेपाल बाट जाने व्यापारीले सापुमा रहेको चेकपोस्टमा सामान चेकजाँच र आफ्नो पास देखाएपछि मात्रै अगाडि जान पाईन्छ ।

नेपालतर्फ व्याँस गाउँपालिकाको वडा नम्बर १ तिंकरको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको छ । छियालेकबाट करिब ६÷७ किलोमिटर  अगाडि ५ घण्टाको दूरीमा नेपाल–चीन सीमास्तम्भ १ नम्बर पिलर पर्छ । टिंकरमा अध्यागमन कार्यालय सञ्चालनको माग गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update