
दार्चुला –भारतसँग जोडिएका दार्चुलाका सीमा नाका बन्द गरिएका छन् ।
भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सीमा नाका बन्द गरिएका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले बताए ।
सोमबार बेलुका ७ बजेदेखि बन्द भएका नाका साउन ८ गते निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्मका लागि बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए । भारतीय पक्षको आग्रहमा सीमा नाका बन्द गरिएका हुन् ।
निर्वाचनको समयमा दुवै देशका सीमा नाका ७२ घण्टा बन्द गर्ने प्रचलन रही आएको छ ।
भारतको उत्तराखण्ड प्रदेशमा यही साउन ८ र १२ गते दुई चरणमा पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको निर्वाचन हुँदैछ ।
यस्तै भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका पनि साउन ९ गतेदेखि ७२ घण्टाका लागि बन्द रहने स्थानीय प्रशासनले जनाएको छ । भारतमा हुने स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सीमा नाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।