
दार्चुला–दार्चुलाको नौगाडमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
नौगाड गाउँपालिका–४ की २५ बर्षीया पार्वती टमाटाको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा आज दिउँसो १ बजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए । उनी गर्भवती समेत रहेकी थिइन् ।
दुर्घटनामा परि घाइते भएका अन्य १० जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रावतले बताए ।
घाइतेमध्ये २६ बर्षीय मोहन ठगुन्ना, १८ बर्षीया अप्सरा महता र ३५ बर्षीय उमेश ठगुन्नालाई बढी चोट रहेको र बाँकी सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते हुनेमा नौगाड गाउँपालिका–४ का ४० बर्षीया रम्भा महता, ३४ बर्षीय उमेशसिंह ठगुन्ना, १२ बर्षीय राम महता र श्याम महता, १४ बर्षीया कान्छी महता, ७२ बर्षीया गम्बा महता र अपिहिमाल गाउँपालिका–४ का १९ बर्षीया लक्ष्मी कार्की रहेका छन् ।
नौगाड गाउँपालिकाको होपरीबाट होपरीगाडतर्फ गइरहेको सुपप्र ०४००१ज ०१०३ नम्बरको जिप बिहीबार बिहान साढे ८ बजेतिर दुर्घटनामा परेको हो ।
कच्ची चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । जिप सडकबाट झण्डै ८० मिटर तल खसेको बताइएको छ ।
दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।