
दार्चुला –दार्चुलामा राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ । तिहारको समयमा खेलिने देउसी भैलो राति १० बजेसम्ममात्रै खेल्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।
तिहारको समयमा खेलिने देउसीभैलोलाई मार्यादित रुपमा खेल्न समेत आग्रह गरिएको छ ।
स्थानीय प्रशासनले मौलिक परम्परा संस्कृतिको संरक्षण गर्दै तथा प्रचलित कानूनको परिपालना गरी तिहार मनाउनुपर्नेमा जोड दिएको छ । पटाका आतिशवाजी लगायतका विस्फोटक पदार्थहरूको प्रयोग, ओसारपसार तथा विक्री वितरण नगर्न अनुरोध गरेको छ ।
चाडपर्वको समयमा ट्राफिक नियमको पालना गरेर सवारी साधन चलाउन आग्रह गरिएको छ । क्षमता भन्दा बढी यात्रु नबोक्न, तोकिएको भन्दा बढी भाडा नलिन तथा यात्रुलाई कुनै सहयोग आवश्यक परेमा वा कुनै गुनासो भएमा यात्रु सहायता कक्षमा सम्पर्क गर्न दार्चुला प्रशासनले आग्रह गरेको छ ।
चाडपर्वको बेला हुन सक्ने चोरी, डकैती तथा लुटपाटको घटना न्यूनीकरण गर्न र आ–आफ्नो धन सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले अपिल गरेको छ ।
प्रचलित कानुन विपरीतका काम नगर्न र कसैले कानुन विपरीत काम गरेमा कारवाही हुने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।