विद्युत विस्तारको माग गर्दै सिगास–१ को वडा कार्यालयमा तालाबन्दी

बैतडी–बैतडीको सिगास गाउँपालिका वडा नं १का स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । विद्युत विस्तारको माग गर्दै स्थानीयहरुले आज वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

सिगास गाउँपालिका वडा नं १ का आधाभन्दा बढी गाउँमा विद्युत विस्तार नभएकाले आफूहरु बाध्य भएर तालाबन्दी गर्ने निर्णयमा पुगेको स्थानीय रविन्द्र धामीले बताए । गाउँमा पोल र तार राखिसकिएको भएपनि विद्युत विस्तारमा आनाकानी गरेको उनीहरुले बताएका छन् । 

गाउँमा विद्युत नबाल्दासम्म आफूहरुको तालाबन्दी यथावत रहने धामीले बताए । विद्युतको पोल गाडेर तार समेत तानेको अवस्थामा विद्युत प्राधिकरणले चासो नदिएको उनीहरुको आरोप छ । 

यता वडा अध्यक्ष रामचन्द्र ऐरीले नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र विद्युत विस्तारमा चासो नदिएको आरोप लगाएका छन् । वडा नम्बर १ को कार्यालयसम्म विद्युत विस्तार भएको भएपनि केही गाउँहरुमा विद्युत विस्तार हुन बाँकी रहेको छ । विद्युतका संरचनाहरु बनेका भएपनि प्राधिकरणले विद्युत विस्तार नगरेको वडा अध्यक्ष ऐरीले बताए । 

स्थानीय जनप्रतिनिधिको हैसियतले आफूले पटक–पटक विद्युत प्राधिकरणमा विद्युत विस्तारका लागि गुहार गरेको भएपनि विद्युत विस्तार नभएको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update