बझाङ –बझाङमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडकमा सोमबार बिहान अटो दुर्घटना भएको हो ।
टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटोको ब्रेक फेल भएर करिब ९०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा बुंगल नगरपालिका–१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, ६ वर्षीया डल्ली महरा र ५ वर्षीय रियास महराको मृत्यु भएको छ ।
अटोमा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परेका १३ वर्षीय विक्रम महरा सकुशल घर गएको प्रहरीले जनाएको छ ।
अटो चालक बुंगल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।




