Sagun Khabar
दार्चुलाको व्याँसमा घोरेटो बाटो निर्माण, निर्माण व्यवसायीद्वारा पालिकालाई बाटो हस्तान्तरण 

दार्चुला –दार्चुलाको व्यासमा घोरेटो बाटो निर्माण गरी निर्माण गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

सङ्घीय सरकारले गत आर्थिक वर्षमा व्याँसको  घोरेटो बाटो निर्माणका लागि गाउँपालिकालाई पाँच करोड ५० लाख विनियोजन गरेको थियो । उक्त रकममध्ये चार करोड २४ लाख ५५ हजार बाटो निर्माणमा खर्च भएको निर्माण कम्पनी मिशन–देवहरि जेभीका प्रतिनिधि केशवबहादुर पालले जानकारी दिए । गत आर्थिक वर्षमा समय अभावका कारण काम सम्पन्न हुन नसक्दा रु एक करोड २५ लाख ४४ हजार फिर्ता भएको थियो ।  

व्याँस गाउँपालिका–१ छाङरुदेखि वडा नम्बर २ दुम्लिङसम्म करिब ३१ किलोमिटर बाटो निर्माण गरिएको छ । बाटो निर्माण गरिएसँगै बुधवार व्याँस गाउँपालिका–१ छाङरुबाट केही पशुचौपाया सामानसहित जिल्ला सदरमुकामका लागि पठाइएको छ । 

व्याँस गाउँपालिका–१ छाङरु जोड्ने बाटो नहुँदा भारतीय मार्ग हुँदै त्यहाँका स्थानीय पशुचौपायासहित कुन्चा  सर्ने गर्दथे । अब नेपालकै बाटो भएर व्याँसीहरु कुन्चा सर्ने तयारी गरिरहेका छन् । 

कडा चट्टानी भू–भाग तम्बाकु, थी भीर, बयलीधार र अपिखोलामा जोखिम मोलेर बाटो निर्माण गरिएको बाटो निर्माणमा खटिएका स्थानीयसमेत रहेका प्रेम बोहराले बताए । बाटो निर्माणका लागि गत जेठ ५ गते व्याँस गाउँपालिका र मिशन–देवहरि जेभीबीच ठेक्का सम्झौता गरिएको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update