बैतडी –बैतडीको शिवनाथ गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । गाउँपालिकाका केन्द्र सुल्लेखानस्थित खेलमैदानमा प्रतियोगिताको उद्दघाटन गरिएको हो ।
प्रतियोगितामा पालिकाभरीका ९ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी, छात्र÷छात्रा एथलेटिक्स खेलहरु हुने उनले बताए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुबाट छनौट गरेर जिल्लास्तरीय प्रतियोगिताका लागि गाउँपालिकाको टीम तयार गरिने प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।
गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए ।
प्रतियोगिता उद्दघाटन सत्रमा गाउँपालिका उपाध्यक्ष शकुन्तला साउँद, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्रहरी नायव उपरीक्षक दिपककुमार राय, वडा अध्यक्ष, विद्यालय प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रपति रनिङ शिल्डमा विद्यार्थीहरुको सहभागितालाई दृष्टिगत गर्दै गाउँपालिकाले विद्यालयहरुमा आज र भोलि दुई दिन सार्वजनिक बिदा समेत दिएको छ ।
प्रतियोगिता उद्दघाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले खेलकुद क्षेत्रको विकासका लागि पालिका सदैव लागिरहेको बताए । गाउँपालिकाको केन्द्र सुल्लेखानमा व्यवस्थित खेल मैदान बनाउने कार्य जारी रहेको उल्लेख गर्दै आगामी दिनमा समेत खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने उनले बताए ।




