Sagun Khabar
पृथ्वी जयन्ती : राष्ट्रिय एकताको सन्देश

पृथ्वी जयन्ती प्रत्येक वर्ष पौष २७ गते नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइन्छ । यो दिन आधुनिक नेपालका निर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्मदिनको सम्झनामा मनाइने राष्ट्रिय महत्वको दिवस हो । पृथ्वी जयन्ती केवल एक व्यक्तिको जन्मजयन्ती मात्र होइन नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता र स्वाधीनताको प्रतीकका रूपमा स्मरण गरिने दिन हो । 

पृथ्वी जयन्ती के का लागि मनाइन्छ भन्ने प्रश्न आउँदा पृथ्वी जयन्ती नेपालको एकीकरण अभियानको ऐतिहासिक योगदानलाई सम्झन र सम्मान गर्न मनाइन्छ । स–साना राज्यहरूमा विभाजित रहेको भूभागलाई एक राष्ट्रका रूपमा एकीकृत गर्ने दूरदर्शी नेतृत्व त्याग र रणनीतिलाई स्मरण गर्दै भावी पुस्तामा राष्ट्रप्रेमको भावना विकास गर्नु यसको मुख्य उद्देश्य हो । 

पृथ्वीनारायण शाहको योगदान पृथ्वीनारायण शाहले ‘दिव्य उपदेश’ मार्फत राष्ट्रिय हित, आत्मनिर्भरता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिएका थिए । ‘नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो’ भन्ने उनको विचार आज पनि राष्ट्रिय एकताको आधारस्तम्भका रूपमा सान्दर्भिक छ । उनले भौगोलिक एकीकरणसँगै सांस्कृतिक र सामाजिक एकताको महत्वलाई जोड दिएका थिए ।

किन पृथ्वी जयन्तीमा शुभकामना दिने ?

पृथ्वी जयन्तीमा शुभकामना आदान प्रदान गर्नु भनेको राष्ट्र निर्माणको साझा इतिहासप्रति सम्मान प्रकट गर्नु हो । यसले हामी सबै नेपालीलाई भाषा, जात धर्म क्षेत्र र विचारभन्दा माथि उठेर ‘नेपाली’ पहिचानमा एकताबद्ध हुन प्रेरित गर्छ । शुभकामनाले आपसी सद्भाव, सहकार्य र राष्ट्रिय जिम्मेवारीको भावना सुदृढ बनाउँछ ।

एकताको सन्देश आजको परिवेशमा पृथ्वी जयन्तीको सन्देश अझै सशक्त छ । विकास, सुशासन र समृद्धिको यात्रामा अघि बढ्न राष्ट्रिय एकता अपरिहार्य छ । मतभेद विचारमा हुन सक्छन् तर राष्ट्रहितमा हामी सबै एक हुनुपर्छ पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै हामीले सामाजिक सद्भाव सहिष्णुता र सहकार्यलाई जीवन्त राख्नुपर्छ । 

अन्त्यमा पृथ्वी जयन्ती इतिहास सम्झने मात्र होइन, वर्तमान र भविष्यका लागि मार्गदर्शन गर्ने दिवस हो यो दिनले हामीलाई राष्ट्रप्रेम एकता र जिम्मेवारीको पाठ सिकाउँछ । त्यसैले पृथ्वी जयन्तीमा शुभकामना साटासाट गर्दै एकताबद्ध होस सम्पुर्ण नेपाली लाई शुभकामना ।
 

लेखक – भोजराज अवस्थी

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update