एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराउँदै तेस्रो जित हासिल गरेको छ ।

पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । विराटनगरका बसिर अहमदले ३७, लोकेश बमले ३३, इसुरु उडानाले नटआउट २५ रन बनाए । पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २÷२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा १३२ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पोखराका युवराज साम्राले ८४ रन बनाए ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए । उनले युवराज साम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार आउट गर्दै ह्याट्रिक पूरा गरे । उनले ४ ओभरमा २७ रन दिँदै ६ विकेट लिए ।

सन्दीप लामिछाने एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि काठमाण्डौ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।

यस्तै लामिछाने एनपीएलमा एकै खेलमा ६ विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि काठमाण्डौका शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।

यो जितसँगै विराटनगर ६ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । विराटनगर प्लेअफमा पुग्ने सम्भावना कायमै छ । पोखरा ६ खेलमा २ अङ्कसहित पुछारमा छ । योसँगै पोखरा प्लेअफ होडबाट बाहिरिएको छ ।

एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्दैछन् ।

लुम्बिनी ५ खेलमा ७ अङ्कसहित तालिकाको तेस्रो र कर्णाली ५ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा सातौँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update