एनपीएल : काठमाण्डौलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाण्डौ – सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा आज सुदूरपश्चिमले काठमाण्डौ गोर्खाजलाई ७ रनले हराएको हो ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाण्डौले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । काठमाण्डौका राशिद खानले नटआउट ३५ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ६०, थरिन्दु रत्नायकेले नटआउट २६ रन बनाए । काठमाण्डौका जहानदाद खानले ३, सन्तोष यादवले २ विकेट लिए ।

एक समय ८ रन बनाउँदा ४ विकेट गुमाएको अवस्थामा दीपेन्द्र र आरिफ शेखले पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरे । यस्तै दीपेन्द्र र थरिन्दुले पनि छैटौँ विकेटका लागि ५४ रनको साझेदारी गरे ।
यो जितसँगै सुदूरपश्चिम ७ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । काठमाण्डौ ६ खेलमा ८ अङ्कसहित तेस्रो स्थानमा छ ।

एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् । चितवन ५ खेलमा ५ अङ्कसहित तालिकाको पाँचौँ र जनकपुर ६ खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा छ ।

सुदूरपश्चिम प्लेअफमा पुग्ने दोस्रो टोली हो । यसअघि साविक उपाधि विजेता लुम्बिनी लायन्स प्लेअफमा पुगेको थियो । यस्तै पोखरा एभेन्जर्स प्लेअफ होडबाट बाहिरिइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update