Sagun Khabar
बैतडीमा बिताएका ती पल, जहाँ मैले जनस्वास्थ्यको अर्थ समेत बुझ्न पाएँ

कसैले घर कता भनेर सोध्दा बैतडी हो भन्ने म, न बैतडीमा पढ्न पाएको थिएँ, न हुर्कन नै। भनिन्छ यदि कुनै कुरालाई मन देखि नै चाह्यो भने त्यो एकदिन अवश्य पूरा हुन्छ ।त्यस्तै मौका मलाई जुर्यो जब मैले जनस्वास्थ्य विषयमा स्नातक पढिसकेपछि छात्रवृत्ति करारमा जनस्वास्थ्य अधिकृतको रुपमा स्वास्थ्य कार्यालय बैतडीमा सेवा गर्ने मौका पाएँ । यो अवसरले मलाई नीति तथा योजनाहरुको मात्र नभएर समुदायसँगको प्रत्यक्ष सम्बन्ध, स्थानीय तहहरूसँगको सहकार्य, र सेवाप्रति समर्पणको समेत पाठहरु सिकायो ।

बैतडीमा जनस्वास्थ्य अधिकृत बनेर जानुअघि मनमा विभिन्न कौतुहलताहरु थिए, बैतडीका बारेमा, सरकारी स्वास्थ्य सेवाका बारेमा, स्वास्थ्यकर्मीहरुका बारेमा र स्वयं आफैँले जनस्वास्थ्य अध्ययन गरेको औचित्यका बारेमा । यो अवसरले मलाई जनस्वास्थ्यको पाठ्यक्रम भन्दा बाहिर गएर वास्तविक जीवनमा त्यसको अर्थ बुझ्न सिकायो । नीति तथा योजनाहरु कागजमा मात्र सीमित छैनन्स ती त दुर्गम बस्तीका बाटोहरूमा, स्थानीय जनताको भरोसामा र सेवा गर्ने हातहरूमा लेखिएका हुन्छन् भन्ने कुरा मैले बैतडीमै आएर सिक्न पाएँ । 

मैले सेवामा रहँदा स्वास्थ्य कार्यालय बैतडीले स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू र स्वास्थ्य संस्था प्रमुखहरूसँग नजिकको सहकार्य गर्दै विभिन्न तालिम, सहायक अनुगमन, अभिलेख व्यवस्थापन, प्रतिवेदन प्रणाली र कार्यक्रम कार्यान्वयनमा निरन्तर मार्गदर्शन गरिरहेको पाए। यस्ता प्रयासहरूले पोषण, खोप, क्षयरोग नियन्त्रण, र मातृशिशु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू ल्याएका छन् । यी उपलब्धिहरू समुदाय, स्वास्थ्यकर्मी, स्थानीय सरकार, विकास साझेदारहरू (जस्तैWHO, UNICEF)  र स्वास्थ्य कार्यालय बीचको संयुक्त समन्वय र सहकार्यका परिणाम हुन् । बैतडीको स्वास्थ्य क्षेत्रमा पनि अन्य क्षेत्रहरुझैँ अनेक चुनौतिहरु छन् तर ती चुनौतिहरुभन्दा ठूलो त्यहाँ आशा छ, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको मिहिनेत छ ।

भौगोलिक कठिनाइ, साधनस्रोतको कमी, औषधि र जनशक्तिको अभावका बाबजुद पनि गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर रहनु कुनै संयोग नभएर यहाँका स्वास्थ्यकर्मीहरूको दृढता र समर्पणकै प्रतिफल रहेको मैले पाएँ।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू—जसले टाढा टाढाका बस्तीहरूमा पुगेर खोप, पोषण, मातृशिशु स्वास्थ्यका सन्देशहरू पुर्‍याउँछन् ( उहाँहरूको निस्वार्थ सेवा र योगदान साँच्चै नै प्रेरणादायी छ । 

मैले बैतडीको स्वास्थ्य सेवामा रहँदा खोपबाट घट्न सक्ने अवाञ्छित घटना (AEFI-Adverse Event Following Immunization) को अनुसन्धानदेखि लिएर HPV खोप अभियानको योजना र कार्यान्वयन सम्मका महत्वपूर्ण कार्यहरुका अनुभवहरू बटुल्न पाएँ । क्षमता विकासका कार्यक्रमहरू सञ्चालन र सहजीकरण गर्ने अवसर आफैँमा ठूलो सौभाग्य थियो, जहाँ सिक्ने मात्र होइन, सिकेका कुरा अरुलाई बाँड्ने र सँगै अघि बढ्ने अमूल्य मौका पनि प्राप्त भयो। स्वास्थ्य कार्यालय बैतडीको तर्फबाट विभिन्न औपचारिक कार्यक्रमहरूमा प्रतिनिधित्व गर्नु  मेरो लागि गर्वको विषय मात्र होइन, जिम्मेवारीको गहिरो अनुभूति पनि रह्यो ।यस क्रममा मैले बैतडीको सिगास, रौलेश्वर, पुर्चौंडी, गोकुलेश्वर, डीलाशैनी, दोगडाकेदार देखि लिएर तल्लो सोराड क्षेत्रका पंचेश्वर, शिवनाथ, मेलौली सम्मका विभिन्न गाउँबस्तीहरुमा पुगेर त्यहाँका आम नागरिकको स्वास्थ्य सेवामा पहुँचको अवस्था बारेमा साक्षात्कार हुने मौका पाएँ ।

यी सबै अनुभवहरूले मलाई स्वास्थ्यका चुनौतीहरू केवल औषधि र उपचारमा मात्र सीमित हुँदैनन्स ती त शिक्षा, लैङ्गिक समानता, आर्थिक अवस्था र सामाजिक व्यवहारहरू स्वास्थ्यका मूल निर्धारक हुन् भन्ने कुरा प्रष्ट रुपमा देखायो । खोप कार्यक्रममा एक जना सहभागीले भनेको अझै सम्झिन्छु ( “छोरीपछि लगत्तै छोरा जन्मिए त छोरीको पूर्ण खोपमा ध्यान नै दिइँदैन।” यस्तो सोचले जनस्वास्थ्य सुधारको बाटोमा सामाजिक परिवर्तनको आवश्यकता झल्काउँछ । मेरो लागि सबै भन्दा ठुलो सिकाई नै “अवस्था अनुसारको व्यवस्था” हो । सिमित साधनस्रोतका बीच पनि इच्छाशक्ति, समर्पण र सहकार्यकै बलमा स्वास्थ्य सेवा निरन्तर सम्भव बनेको रहेछ ।

बैतडीमा बिताएका ती प्रत्येक दिन मेरा लागि नयाँ अनुभव र निरन्तर केही सिक्ने अवसरका रुपमा रहे । ती दिनहरुले मलाई जनस्वास्थ्यको वास्तविक अर्थ बुझाए ( भूगोलभन्दा माथि उठ्ने प्रतिबद्धता, सिमितता बीचको अथक प्रयास, र सेवाबाट प्राप्त  आत्मसन्तुष्टि यही नै जनस्वास्थ्यको सौन्दर्य हो, जहाँ नीति र मानवता एउटै बाटोमा हिँड्छन्।अन्त्यमा, म स्वास्थ्य कार्यालय बैतडीका सम्पूर्ण कर्मचारी, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्य संस्था प्रमुखहरु, विकास साझेदार संस्थाहरु, स्थानीय समुदाय  र सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

लेखक –रितेन्द्र बडू ,जनस्वास्थ्य अधिकृत 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update