बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा आजदेखि पाँच दिने निःशुल्क दन्त तथा स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर शुरु भएको छ ।
युनाइटेड नेपाल फाउण्डेसन भक्तपुर, सगरमाथा हेल्थ फाउण्डेसन महाराजगञ्ज र हेल्थ केयर नेपालको आयोजना तथा सुर्नया गाउँपालिकाको समन्वयमा आजदेखि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको युनाइटेड नेपाल फाउण्डेसनका अध्यक्ष केशवबहादुर चन्दले बताए । उक्त शिविर मंसिर ६ गते सम्म सञ्चालन हुने उनले बताए ।
स्थानीयस्तरमा नागरिकहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको अध्यक्ष चन्दले बताए । शिविरमा आएर सेवा लिन समेत आग्रह गरिएको छ ।
पाँच दिन सम्म सञ्चालन हुने शिविरले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने विश्वास लिइएको छ । दाँत सम्बन्धी समस्या भएका नागरिक र स्त्रीरोग सम्बन्धी समस्या भएकाहरुलाई शिविरमा सेवा दिइने बताइएको छ ।
शिविरमा स्त्री रोग बिशेषज्ञ डा.पदमराज पन्त, दन्त रोग बिशेषज्ञ डा.दिपकराज जोशी लगायतको टोलीले सेवा दिइरहेको चन्दले जानकारी दिए ।




