बैतडी–बैतडीको दशरथचन्द नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ ।
निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा सञ्चालन भइरहेको प्रतियोगितामा नगरपालिकाभरीका २२ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । यही माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी, एथलेटिक्स लगायतका खेलहरु खेलाइने दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई नगद पुरस्कारका साथै शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भट्टले बताए ।
नगर प्रमुख पुष्करराज जोशीको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन गरिएका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुबाट जिल्लास्तरीय प्रतियोगिताका लागि दशरथचन्द नगरपालिकाको टीम तयार पारिने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।




