Sagun Khabar
साम्बाको उपचारका लागि २४ घण्टामै डेढ करोड रुपैयाँ संकलन 

काठमाण्डौं –नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि २४ घण्टामै करिब डेढ करोड रुपैयाँ संकलन भएको छ ।

अब आफ्नो उपचारका लागि रकम पर्याप्त पुग्ने भन्दै साम्बाले आर्थिक सहयोग रोक्न अपिल गरेकी छन् । 

‘मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ–संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ’, साम्बाले भनेकी छन्,‘कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।’

साम्बाले आफ्नो उपचार सफल हुने र चाँडै मैदानमा फर्किने आशा पनि व्यक्त गरेकी छन् । साम्बाले सोमबार आफ्नो उपचारका लागि आर्थिक अभाव भएको जनाउँदै सहयोगको अपिल गरेकी थिइन् । उनलाई देश तथा विदेशबाट सहयोगको थुप्रो लागेको हो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update