बैतडीमा एबीसी कप : फाइनलमा गुरुखोला लायन्स र डाँडाबाघ भिड्ने

बैतडी –बैतडीको देहीमाण्डौंमा जारी चौथो संस्करणको एबीसी कप टि–१० क्रिकेट प्रतियोगिताको फाइनलमा गुरुखोला लायन्स र डाँडाबाघ भिड्ने भएका छन् । 

आज सम्पन्न भएका सेमीफाइनल खेलबाट दुवै टोलीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

गुरुखोला लायन्स बैतडालाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बैतडाले निर्धारित १० ओभरमा १ सय १ रन बनाउन सफल भयो । 

१ सय २ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको गुरुखोलाले ९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । उक्त खेलमा गुरुखोलाका भुवन जोशी म्यान अफ द म्याच घोषित भए । 

यस्तै आयोजक डिजे वारियर्सलाई ९ विकेटले हराउँदै डाँडाबाघ पनि फाइनलमा पुगेको छ । टस जितेर पहिला ब्याटिङ गरेको डिजे वारियर्सले ७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो । 
७९ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको डाँडाबाघले ६ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उक्त खेलमा डाँडाबाघका रुपेश चन्द म्यान अफ दि म्याच घोषित भए । 

फाइनल खेल भोलि हुने प्रतियोगिता संयोजक लवकुश बोहराले बताए । 

बी एस स्पोर्टसको आयोजना यही कार्तिक १५ गतेदेखि शुरु भएको प्रतियोगितामा भोलि सम्पन्न हुनेछ । 

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख १ सय ११  रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोश्रो हुने टीमलाई नगद ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा म्यान अफ दि सिरिजलाई ७ हजार ५ सय नगदसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै बेस्ट ब्याट्सम्यानलाई ५ हजार एक सय नगदसहित ट्रफी र प्रमाण पत्र, बेस्ट बलरलाई ५ हजार एक सय नगदसहित ट्रफी र प्रमाण पत्र र उदयीमान खेलाडीलाई ३ हजार १ सय नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक बोहराले बताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update