काठमाण्डौ - साबिक विजेता लुम्बिनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लुम्बिनीलाई ३६ रनले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गोर्खाजले लगातार तेस्रो जित निकालेको छ।
आज शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको काठमाण्डौले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो।
काठमाण्डौका लागि डेभिड वार्नरले सर्वाधिक ६६, साहिल पटेलले ३८ र सहान अराचिगेले अविजित ३४ रन बनाए।
१६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर ३ बलमा १२४ रनमा समेटियो । लुम्बिनीका सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए । काठमाण्डौका जहान्दाद खानले चार विकेट लिए भने कप्तान करण केसीले दुई विकेट लिए ।
जितसँगै चार खेलबाट ६ अङ्क जोडेको काठमाण्डौ अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेलबाट सात जोडेको लुम्बिनी भने शीर्षस्थान कायमै छ ।




