एनपीएलमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराउँदै पहिलो जीत हासिल गरेको छ ।

पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । कर्णालीका पवन सर्राफले सबैभन्दा धेरै ३२ रन बनाए । आरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ रन बनाए । पोखराका मेहदी हसनले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो । पोखराका युवराज सम्राले शतक बनाए । सम्रा ४८ बलमा ६ छक्का र १० चौकाको मद्दतमा १०२ रन जोड्दै आउट भए । यस्तै कुशल भुर्तेलले ६२, चमिका करुणारत्नेले नटआउट ३५ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए ।

युवराज साम्राले एनपीएलको इतिहासमा चौथो र यो संस्करणमा पहिलो शतक बनाएका हुन् । एनपीएलमा शतक बनाउने ४ जनामध्ये युवराज पोखराका तेस्रो खेलाडी हुन् । पहिलो संस्करणमा पोखराका आन्द्रेस गौस तथा दोस्रो संस्करणमा पोखराकै एडम रसिङटन र कर्णालीका मार्क वाटले शतक बनाएका थिए ।

पोखराले बनाएको २१७ रन एनपीएलको इतिहासमा दोस्रो ठूलो योगफल हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किङ्ग्सले पोखरासँगको खेलमा ६ विकेट गुमाएर २२० रन बनाएको थियो ।
यो जितसँगै पोखराले ५ खेलमा २ अङ्क जोड्दै तालिकाको पुछारमा छ । कर्णाली ५ खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा छ ।

एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डौ गोर्खाज खेल्दैछन् । काठमाण्डौ ४ खेलमा ६ अङ्कसहित दोस्रो र चितवन ४ खेलमा ५ अङ्कसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update