बैतडी - बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिस’ पर्वको रौनक बढेको छ ।
बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा बिसु पर्व सिस्नु खेलेर मनाउने गरिन्छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका परम्परागत खानाका मीठा परिकार पकाउन व्यस्तता समेत बढेको छ । बिसु पर्व मनाउन विवाहिता छोरी/चेलीमा आ-आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यो पर्वमा देवर-भाउजू, साली-भिनाजु, नन्द-भाउजू, जेठानी-देवरानीबीच एक आपसमा सिस्नु पानी छ्यापेर ठट्टा रमाइलो गर्ने गरेको विषयलाई आकर्षक पक्षका रूपमा लिइन्छ । ‘यो पर्वको आकर्षकको पक्ष एक आपसमा सिस्नुपानी छ्यापेर रमाइलो ठट्टा गर्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए ।
तराईका जिल्लाभन्दा पहाडका जिल्लामा यो पर्वको रौनक बढी देखिन्छ । सिस्नु पानी छ्याप्दा शरीरमा रहेका छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको छ । हरेक घरमा दहीमा चामल भिजाएर बनाइएको ‘दहीचामल’ आपसमा बाँडेर खाने चलनसमेत रहेको आचार्य लेखकले बताए ।
यो पर्व मनाउने तयारीस्वरूप पहाडी गाउँबस्तीका घरपरिवारले आ-आफ्नो घरलाई रातो र कमेरो माटोले लिपपोत गरेर चिटिक्क पारेका छन् । घर लिपपोत गर्न नसक्नेको घरको लिपपोतको काम छिमेकी महिलाको सहयोगमा गर्ने गरिन्छ । लिपपोत गर्ने कामको नेतृत्व बिशेष गरि महिलाले नै गर्ने गर्छन् । यो पर्व किन मनाइन्छ भन्नेमा विभिन्न भनाइ रहेका भएपनी विक्रम सम्वत् शुरु भएको दिन भएकोले नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ‘बिसु’ पर्व मनाउने चलन शुरु भएको बताइन्छ । आजकै दिन ‘गहुँ र दलहन जस्ता हिँउदे बाली भित्र्याएपछि पहिलो पटक घरमा नयाँ अन्नको ‘नौकोलो’ अर्थात् न्वागी पकाएर खाने चलन समेत रहेको स्थानीय देव दत्त भट्टले बताए ।
यस्तै रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका लागि भए पनि बिसु पर्व मनाउन जन्मघर फर्किसकेका छन । वर्षमा एक पटक आउने बिसु पर्व मनाउन केही दिनको बिदा लिएर घर फर्किएका स्थानीय केही दिनको बसाइपछि भने पुनः भारत नै फर्किने गरेका स्थानीय शिक्षक केशब दत्त भट्टले बताए ।





