Sagun Khabar
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाण्डौ – भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । 

लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गरेका हुन् ।  भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएका छन् । भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ ।

भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताएका छन् । उनले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्णरूपमा समर्थन गर्ने उल्लेख गरेका छन् । 

‘छिमेकी पहिला’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको मोदीले बताएका छन् । दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पु¥याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उनको भनाइ छ ।

सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि अस्ति सोमवार भारत गएका हुन् । 

हिजो लामिछानेले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका थिए । हिजै उनले भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित शीर्ष नेताहरूसँग भेट गरेका थिए । 

भ्रमण टोलीमा लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update