बैतडी–राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बैतडीबाट सुदूरपश्चिमको प्रतिनिधित्व गरेर स्वर्ण पदक विजेता खेलाडीहरुलाई जिल्ला खेलकुद समिति बैतडीले नगदसहित सम्मान गर्ने भएको छ ।
स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिने जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
काठमाण्डौंमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका बैतडीका तीन खेलाडीले स्वर्ण पदक दिलाएका छन् ।
प्रतियोगितामा एथेलेटिक्सतर्फ १५ सय मिटर दौडमा पुर्चौंडीस्थित मालिका मावि भटनाकी छात्रा अस्मिता धानुकले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएकी हुन् भने सटपटमा पुर्चौंडीस्थित महादेव मावि शिबाबोकी छात्रा पूजा साउँदले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएको जिल्ला खेलकुद समिति बैतडीका कार्यालय प्रमुख तर्कराज जोशीले बताए ।
यस्तै हाइजम्पतर्फ दोगडाकेदारस्थित रौलेश्वर मावि कालागाउँकी छात्रा सुनिता पार्कीले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएको कार्यालय प्रमुख जोशीले बताए ।
स्वर्ण पदक विजेता खेलाडीहरुको मनोबल बढाउन नगदसहित सम्मान गर्ने योजना बनाएको अध्यक्ष चन्दले बताए ।





