कञ्चनपुर –आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते तथा कुरुप बनाएको आरोपमा फरार रहेका एक व्यक्तिलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौर निवासी ३४ बर्षीय अशोक भट्टलाई पक्राउ गरिएको हो । उनले गएको पुस १५ गते घरको भान्सामा सेलरोटी पकाउँदै गरेकी आफ्नी श्रीमतीमाथि तातो तेल खन्याएका थिए ।
घटनामा उनकी श्रीमतीको अनुहारसहित शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते तथा कुरुप भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका भट्टविरुद्ध ‘तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने कसुर’ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो ।
प्रहरी टोलीले उनलाई शुक्रबार भीमदत्त नगरपालिका–४ बाट नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार पक्राउ परेका भट्टमाथि थप अनुसन्धान भइरहेको छ ।





