बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
वडा, पालिका, जिल्ला हुँदै प्रदेश तहसम्मका अधिवेशन सम्पन्न गरिसकेको रास्वपाले असार ४ गते महाधिवेशन प्रतिनिधिहरूको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको छ।
यसैबीच, रास्वपा सुदूरपश्चिम प्रदेश समितिले आफ्नो नयाँ नेतृत्वलाई पूर्णता दिएको छ। निर्वाचनमार्फत सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित भएका छन् भने अन्य सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन्। सोही क्रममा सुदूरपश्चिम प्रदेश समितिको उपसभापतिमा भोजराज जोशी (क्वालिटी) सर्वसम्मत निर्वाचित भएका छन्।
उपसभापतिको जिम्मेवारी पाएका जोशीको रास्वपा स्थापनाकालदेखिको निरन्तर संगठन निर्माणको भूमिका महत्वपूर्ण मानिन्छ।
बैतडीको दोगडाकेदार गाउँपालिका स्थायी घर भएका जोशी लामो समयदेखि सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय छन्। उनी क्वालिटी नामले परिचित छन्।
रास्वपाको स्थापनासँगै पार्टीको विचार, सिद्धान्त र एजेन्डालाई जनस्तरसम्म पुर्याउने अभियानमा सक्रिय रहेका जोशी पार्टीका सुदूरपश्चिम प्रदेश संस्थापक महामन्त्रीसमेत हुन्।
उनका अनुसार रास्वपा स्थापना हुँदा बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा पार्टीको कुनै प्रभावशाली संगठनात्मक संरचना थिएन। त्यस्तो अवस्थामा उनी आफ्नै मोटरसाइकलमा गाउँ गाउँ पुगेर पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी गराउने काममा जुटेका थिए।
संगठन निर्माणको प्रारम्भिक चरणमा पुराना तथा स्थापित दलका कार्यकर्ताबाट आलोचना र खिसीट्युरीसमेत सहनुपरेको अनुभव उनी सुनाउँछन्। तर ती सबै चुनौतीलाई सामना गर्दै उनले संगठन विस्तारलाई निरन्तरता दिए।
जोशीको नेतृत्वमा भएको संगठन विस्तारको प्रभाव पछिल्ला निर्वाचनमा देखिएको छ। विशेषगरी बैतडीमा रास्वपाको आधार निर्माणमा उनको भूमिका उल्लेखनीय मानिन्छ।
गत निर्वाचनमा बैतडीबाट रास्वपाका केन्द्रीय सांसद हरिमोहन भण्डारी निर्वाचित हुनुमा स्थानीय संगठन निर्माण र कार्यकर्ता परिचालनको महत्वपूर्ण योगदान रहेको बताइन्छ।
कुनै समय एक्लै मोटरसाइकलमा पार्टीको एजेन्डा बोकेर गाउँ गाउँ पुग्ने भोजराज जोशी आज सुदूरपश्चिम प्रदेश समितिको उपसभापति बन्न सफल भएका छन्।
नवनिर्वाचित उपसभापति जोशीले सुदूरपश्चिममा पार्टीको वैचारिक तथा संगठनात्मक आधार थप बलियो बनाउने, कार्यकर्ताको मनोबल उच्च राख्ने र आगामी निर्वाचनमा रास्वपालाई अझ सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने बताएका छन्।





