Sagun Khabar
बैतडीमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक पक्राउ 

बैतडी–बैतडीमा विद्यालय भित्रै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक पक्राउ परेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका–६ थलीगडास्थित कालिका माध्यमिक विद्यालयका शिक्षक नरेशबहादुर चन्दलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

पक्राउ परेका चन्दमाथि कक्षा १० मा अध्ययनरत एक छात्रालाई कक्षाकोठामा एक्लै रहेको मौका छोपी यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । 

गएको जेठ २२ गते भएको घटनाका बिषयमा पीडित छात्राले  परिवारलाई जानकारी गराएपछि उक्त घटना बाहिर आएको हो । 

घटना बाहिरिएपछि विद्यालय प्रशासन र सरोकारवाला निकायबिच आकस्मिक छलफल भएको थियो । शिक्षक चन्दका बिषयमा यसअघि पनि यस्ता गुनासाहरु आउने गरेको र यो पटक बर्खास्त गरिएको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । 

पीडित पक्षले जेठ ३० गते शिक्षक चन्दको नाममा बाल यौन दुरुपयोग मुद्दामा जाहेरी दर्ता गरेपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताए । उनीमाथि बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धान शुरु गरिएको उनले बताए । 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update