Sagun Khabar
डोल्पाको गैरीगाउँमा मध्यरातमा बाढी : एक महिलाको मृत्यु , ६ जना घाइते

कालिकोट–डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा लेदोसहित बाढी आएको छ । गएरातिको बाढीका कारण एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

लगातारको वर्षापछि धुलाखोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुङ्गासहितको बाढी गाउँमा पसेको डोल्पाका प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले जानकारी दिए । उनका अनुसार बाढीमा घाइते भएकी स्थानीय ५६ वर्षीया आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । 

बाढीमा परी घाइते भएका अन्य ६ जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विकको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु विकका अनुसार बाढीले झण्डै १५–१६ मिटरसम्म बगाएको थियो । जसका कारण ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । बाढीले गाउँमा ठूलो भौतिक क्षति समेत पु¥याएको छ । 

डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदामसहित ७–८ वटा घरमा क्षति छ । एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । 

घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  ०८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update