दशौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिम प्रदेशस्तरीय छनोट शुरु, २९०० खेलाडी र प्रशिक्षक सहभागी

कैलाली –कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले खेलाडी छनोट शुरु गरेको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । 

धनगढी रंगशालामा मुख्यमन्त्री खगराज भट्टले छनोट प्रतियोगिताको उद्घाटन गरेका हुन् ।  राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलमध्ये सुदूरपश्चिमले ३० खेलमा सहभागिता जनाउने तयारी गरेको छ ।

छनोट प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा सञ्चालन भइरहेको छ । मंसिर १ गतेसम्म चल्ने छनोट प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाबाट खेलाडी तथा प्रशिक्षक गरी २९ सय जना सहभागी भएका छन् । छनोटबाट करिब ७५० खेलाडीले राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछन् । 

कार्यक्रममा मुख्यमन्त्री खगराज भट्टले सीमित स्रोतसाधनका बाबजुद सुदूरपश्चिममा प्रतिभाशाली खेलाडी उत्पादन हुनु प्रदेशका लागि गौरवको विषय भएको बताए । खेलाडीको प्रतिभा पहिचान गर्ने, उनीहरूलाई उचित अवसर र मार्गदर्शन प्रदान गर्ने तथा खेलकुद क्षेत्रका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको मुख्यमन्त्री भट्टले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update