Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलासैनी भगवती मन्दिरमा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै

बैतडी - बैतडीको प्रसिद्ध निङ्गलासैनी भगवती मन्दिरमा साउन लागेसंगै धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ ।

प्रत्येक महिनाको सङ्क्रान्ति र सोह्र श्राद्धबाहेक वर्षका एघारै महिनाको पूर्णिमा, चैते दशैँ, र बडादशैँमा निङ्गलाशैनी भगवतीको मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यको अद्वितीय संगमका रूपमा रहेको निङ्गलासैनी भगवती मन्दिरको दर्शन गर्न सिमावर्ती भारतीय नागरिक समेत पुग्ने गरेका छन ।

निङ्गलाशैनी भगवती मन्दिरमा भाकल गरे सोचे अनुसारको वरदान पूरा हुने भएकाले कास्की जिल्लाबाट बैतडी आएका एक निसन्तान दम्पतीले माताको दर्शन र प्रार्थनापछि सन्तान प्राप्त गरेको र उनीहरूले कृतज्ञतास्वरूप चढाएका चिनोमानोहरू आज पनि मन्दिरमा सुरक्षित रहेको बैतडीका स्थानीय तथा बुढापाकाहरूले बताउँने गरेका छन ।

मन्दिरको उत्पत्तिबारे रोचक किंवदन्ती रहेको निङ्गलाशैनी भगवतीको परापूर्वकालमा बैतडीको नौगेडी वनमा गाई चराउन जाँदा, गाई आफैँ निङ्गालाको झ्याङमा दुहिएको र सो झ्याङमा हँसिया प्रहार गर्दा रगत बगेपछि उक्त शिलालाई कुलदेवीका रूपमा पूजा गर्न थालिएको इतिहास रहेको छ । सोही समयमा रगत पुछेर कपडा ओढाउने लावड जातिलाई देवीको प्रिय पात्र मानिन्छ भने हँसिया प्रहार गर्ने बोहरा वंशकी श्रीमतीहरूलाई हालसम्म पनि मन्दिरको टीका–प्रसाद ग्रहण गर्न निषेध गरिएको सामाजिक मान्यता बैतडीमा अझै यथावत् रहेको मन्दिरका मुल पुजारी देव दत्त भट्टले बताउनुभयो ।

ऐतिहासिक रूपमा डोटीका राजा नागी मल्लले निङ्गलासैनी भगवतीलाई सर्वशक्तिमान  मानी चढाएको घण्टी र प्राचीन अठौती मल्ल तथा खपर्या दैत्यसँगको युद्धका लोकगाथाहरू आज पनि बैतडीमा गौरा पर्व र विभिन्न जात्रामा गुञ्जायमान हुने गरेका छन् । धार्मिक जन विश्वासअनुसार निङ्गलासैनी भगवती र ग्वाल्लेक केदारबीच शिव–शक्तिको सम्बन्ध रहेको मानिएकाले धान्य पूर्णिमाका दिन निङ्गलाशैनी भगवती ग्वाल्लेक केदारको दर्शनमा जाने जनश्रुति रहेको स्थानीय संस्कृतिका जानकार शिक्षक केशब दत्त भट्टले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा ऐतिहासिक पहिचान बोकेको निङ्गलासैनी भगवती मन्दिरमा साउन महिना भरि पुजाआजा र भाकल चढाउने परम्परा रहेका कारण धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको स्थानीयहरुले बताएका छन । १२औँ शताब्दीको इतिहास बोकेको निङ्गलाशैनी भगवती मन्दिर सुदूरपश्चिम क्षेत्रमा रहेका ’नौ भगवती’ मध्येकी जेठी भगवतीका रूपमा स्थापित रहेको छ ।

विशेष गरी अपुत्रलाई पुत्र दिने, निर्धनलाई धन दिने र भक्तजनका संकटहरू हरण गर्ने अलौकिक शक्तिकी देवीका रूपमा निङ्गलासैनी भगवतीको पूजा–आराधना गरिँदै आएको छ । सुदूरपश्चिमकै जीवित इतिहास, जनआस्था र सांस्कृतिक पहिचानको प्रतीकको रुपमा रहेको निङ्गलाशैनी भगवतीको पवित्र स्थलको उचित संरक्षण, प्रचार प्रसार र भौतिक पूर्वाधारको विकास गर्न सके बैतडी जिल्लालाई मात्र नभई समग्र देशकै प्रमुख धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने अपार सम्भावना समेत रहेको छ । बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेका छन ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १५:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update