Sagun Khabar
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा- बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दिउँसो करिब १:२५ बजे धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो। स्थानीयले घटनाबारे १:३५ बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराएपछि अस्थायी प्रहरी पोस्ट कुवाडी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

दिउँसो करिब २:३० बजे प्रहरी टोली घटनास्थल पुगेर बुझ्दा जिप चालक हिमाली गाउँपालिका–२ नातीखोला निवासी करिब २५ वर्षीय जनवीर बुढा रहेको खुलेको छ। दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये चालक जनवीर बुढा, ४० वर्षीय धर्मलाल बुढा, ३१ वर्षीया मिजरा बुढा तथा हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अम्मर सिंह बुढाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १७:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update