Sagun Khabar
हराउँदै हल गोरु पाल्ने चलन, आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै 

बैतडी –पछिल्लो समय बैतडीमा किसानहरुले हल गोरु पाल्न छोडेका छन् । खेतबारी जोत्नका लागि प्रत्येक घरमा एक हल गोरु पाल्ने चलन रहेको भएपनि पछिल्लो समयमा आधुनिक कृषि उपकरणको प्रयोगसँगै त्यो चलन हट्दै गएको हो । 

खेतीको समयमा मिनि टिलर, ट्याक्टर जस्ता आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको सुर्नया–६ का स्थानीय नवराज अवस्थीले बताए । घेरै जसोको घरमा आजभोली गोरु नभएको उनले बताए । समथर किसिमको जमीनमा ट्याक्टर र केही भिरालो किसिमको जमीनमा मिनि टिलरको प्रयोग गरेर खेत जोत्ने गरिएको उनले बताए । 

बर्षभरी गोरु पालेर खेतबारी जोत्ने समयमा मात्रै काम लाग्ने भएकाले गोरु पाल्नुभन्दा आधुनिक कृषि औजारबाट खेतबारीको काम गर्न सजिलो भएको डिलाशैनीका गाउँपालिकाका स्थानीय स्थानीय विरेन्द्र बोहराले बताए । उनले भने ‘समान्य खर्चमै कृषि औजारहरुको प्रयोग गरेर खेतबारी जोत्न सकिन्छ । गोरु पाल्ने झण्झट भन्दा कृषि औजारको प्रयोग सहज हुने गर्दछ ।’

पछिल्लो समयमा गाउँगाउँमा मिनिटिलरले खेत जोत्ने गरिएको दशरथचन्द नगरपालिका–१ का खेमराज भट्टले बताए । गहुँ छर्ने बेला गोरुले जोत्ने गरेकोमा अहिले मिनिटिलरले खेत जोत्ने गरेको उनले बताए । 

आधुनिक कृषि औजारहरुले किसानहरुको कार्यबोझ समेत घटाएकाले यसमा किसानहरुको आकर्षण बढ्दै गएको पाटन नगरपालिकाको कृषि शाखामा कार्यरत प्राविधिक महेश अवस्थीले बताए । कृषि औजारहरुले किसानहरुलाई सजिलो भएकाले यसको प्रयोग बढ्दै गएको उनले बताए । उनले भने ‘खेत जोत्नका लागि अहिले मिनिटिलरको व्यापक प्रयोग हुन थालेको छ । कृषि यन्त्रहरुमा किसानहरुको आकर्षण बढेको छ । यसले किसानहरुको कार्यबोझ समेत घटाएको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update