काठमाण्डौ – नेपाली कांग्रेसका नेताहरू नैनसिंह महर र रञ्जित कर्णको अगुवाइमा ‘देश र कांग्रेस जोड्ने अभियान’ शुरू भएको छ ।
पार्टीभित्र बढ्दो मतभेद, अविश्वास र आन्तरिक किचलोले सङ्गठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन २० गते काठमाण्डौमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने घोषणा गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको सङ्घारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताएका छन् । देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्षी दल आफैँभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ ।
महरका अनुसार यही साउन २० गते बिहान ११ बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ ।
कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ गतेदेखि ३१ गतेसम्म छुटै राष्ट्रिय भेला आह्वान गरेपछि देश र कांग्रेस जोड्ने अभियान सक्रिय बनेको हो ।




