बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीमा ‘हामी आउँदैछौं’ अभियान सञ्चालन सञ्चालन गरेको छ ।
पार्टीको केन्द्रीय निर्णय अनुसार बैतडीमा रास्वपाको उक्त अभियान सञ्चालन गरिएको रास्वपा सुदूरपश्चिमका उपसभापति भोजराज जोशीले बताए ।
प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर महतासहितको सहभागितामा जिल्लाका स्थानीय तहहरुमा उक्त अभियान सञ्चालन भइरहेको जोशीले बताए ।
सिगास गाउँपालिकाबाट शुरु भएको अभियान पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सम्पन्न गरिएको जोशीले बताए ।
नागरिकका दैनिक समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सञ्चालन गरिएको प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र महताले बताए । स्थानीयस्तरमै नागरिकका समस्या बुझेर र ती समस्याहरुको समाधानका लागि अभियानमार्फत सहयोग पुग्ने उनले दाबी गरे ।
राजनीतिक दल र नागरिकबीच नियमित सम्वादलाई अगाडि बढाउन अभियान सञ्चालन गरिएको महताको भनाइ छ । निर्वाचनको समयमा मात्रै मतदाताको घरदैलोमा पुग्ने प्रवृत्तिभन्दा बाहिर निस्केर जनताका दैनिक समस्या बुझ्न अभियान सञ्चालन गरिएको उनको दाबी छ ।
अभियानका क्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग समेत छलफल भइरहेको उपसभापति जोशीले बताए । स्थानीय तहबाट प्राप्त सुझावलाई पार्टीको आगामी नीति निर्माण, संगठन सुदृढीकरण तथा जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउन प्रयोग गरिने उनले बताए ।




