बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा कार्यरत पालिका अनुदान शिक्षकहरुको तलब वृद्धि गर्ने सहमति भएको छ । गाउँपालिकामा आज शिक्षक र पालिकाका जनप्रतिनिधिहरुबीच भएको छलफलमा तलब वृद्धि गर्ने सहमति भएको हो ।
पालिका अनुदानमा कार्यरत शिक्षकहरुको १० प्रतिशत तलब वृद्धि गर्ने कुरा यसअघि नै भएको र त्यसमा ३ प्रतिशत थप गरेर १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति भएको सुर्नया शिक्षक एकता समाजका सचिव हेमराज भट्टले बताए ।
शिक्षकहरुसँग भएको सहमति कार्यपालिकामा पेश गरिने र कार्यपालिकाबाट निर्णय गरेर लागू गर्ने भएपछि आफूहरुले संघर्षका कार्यक्रम स्थगित गरेको सचिव भट्टले बताए ।
यसअघि पालिका अनुदान शिक्षकहरुले तलब वृद्धि, सामाजिक सुरक्षा कोषमा आवद्धता, पोशाक भत्ता उपलब्ध गराइनुपर्ने लगायतका मागहरु राखेर आन्दोलन गरेका थिए ।




