बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ स्थित शंकर संस्कृत मावि मूलखटालीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा जयबहादुर कुँवर चयन भएका छन् ।
विद्यालयमा भएको अभिभावकहरुको भेलाले कुँवरको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । उक्त समितिको सदस्यमा खेमराज अवस्थी, धनमती अवस्थी र सुशीला कुमारी साउँद मडै चयन भएका छन् ।
यस्तै वडा अध्यक्ष मदनराज अवस्थी समितिमा पदेन सदस्य रहेका छन् भने परमानन्द अवस्थी शिक्षक प्रतिनिधि सदस्य चयन भएका समितिका सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक भानबहादुर बिष्टले बताए ।
शिक्षा नियमावलीको दशौं संशोधन र सुर्नया गाउँपालिका शिक्षा शाखाको परिपत्र अनुसार विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन गरिएको हो ।
कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा माध्यमिक तह कक्षा १० सम्म संस्कृत बिषयको समेत पढाइ हुने गरेको छ ।
नयाँ विद्यालय व्यवस्थापन समितिले विद्यालयको चौतर्फी विकासका लागि पहल गर्ने अपेक्षा गरिएको प्रधानाध्यापक बिष्टले बताए ।




