बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरका २६ बर्षीय युवा सुवास चन्द एक सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका छन् ।
यहाँस्थित सिगास मावि मुसे रौटेको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा उनी चयन भएका हुन् । बिहीबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले सुवासलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
उक्त समितिको सदस्यमा मानमती भट्ट,मान बिष्ट र जयन्ती चन्द चयन भएका छन् । यस्तै शिक्षक प्रतिनिधि सदस्यमा राजेन्द्रप्रसाद अवस्थी चयन भएका समितिका सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक पदमराज विश्वकर्माले बताए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएपछि आफूले विद्यालयको चौतर्फी विकासका लागि पहल गर्ने अध्यक्ष चन्दले बताए । अभिभावकहरुले विश्वास गरेर जिम्मेवारी दिएको र उक्त जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने उनको भनाइ छ ।
सिगास माविको शैक्षिक गुणस्तर र भौतिक क्षेत्रमा सुधारका लागि आफूले पहल गर्ने र यसमा सबैको सहयोग प्राप्त हुने विश्वास रहेको चन्दले बताए ।
आफ्नो गाउँठाउँको शैक्षिक क्षेत्रको विकासका लागि युवापुस्ता अगाडि बढ्नुपर्ने सोचसहित आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएको उनको भनाइ रहेको छ ।
सामुदायिक विद्यालयहरुलाई उत्कृष्ट बनाउन सकिने भएकाले आफूले सोही अनुसार काम गर्ने चन्दको भनाइ रहेको छ ।




