सोलुखुम्बु — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुईवटा हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ बजे डाइनेष्टिक एयर र फिस्टेल एयरका हेलिकप्टरहरू अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । यस दुर्घटनामा परेर हेलिकप्टरमा सवार एक विदेशी नागरिकको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक जना यात्रु घाइते भएका छन् । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको छ ।
घाइतेको अवस्था तथा दुर्घटनाग्रस्त हेलिकप्टरहरूमा सवार अन्य यात्रु र चालक दलका सदस्यहरूको यकिन विवरण आउन बाँकी रहेको छ । हिमाली क्षेत्रको फेरुचेमा भएको यस दुर्घटनाको कारण खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे थप अनुसन्धान तथा विवरण सङ्कलन गरिरहेको जनाएको छ ।





