स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट

बैतडी–बैतडीको पाटन नगरपालिका स्वास्थ्य क्षेत्रमा बैतडीका १० ओटा पालिकामध्ये उत्कृष्ट भएको छ । 

स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठीमा जिल्लाका १० ओटा स्थानीय तहमध्ये पाटन नगरपालिका उत्कृष्ट रहेको जानकारी दिइएको छ । 

स्थानीय तहहरुले सञ्चालन गर्ने स्वास्थ्य कार्यक्रमहरुलाई आधार मानेर पालिकाहरुलाई अंक दिने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख सुदीप ओखेडाले बताए । 

विभिन्न सूचकहरुको आधारमा पालिकाहरुलाई अंक दिने गरिएको र गत बर्षभरी स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका कामका आधारमा पाटन नगरपालिका प्रथम भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए । यसअघि गत बर्ष समेत पाटन नगरपालिका १० ओटै पालिकामध्ये उत्कृष्ट भएको थियो । 

यस्तै दशरथचन्द नगरपालिका दोश्रो र मेलौली नगरपालिका तेश्रो भएको सूचना अधिकारी कार्कीले बताए । 

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट भएका पालिकासहित दशओटै स्थानीय तहहरुलाई सम्मानपत्र प्रदान गरिएको सूचना अधिकारी कार्कीले बताए । 

उत्कृष्ट भएको पाटन नगरपालिका, दोश्रो भएको दशरथचन्द नगरपालिका, तेश्रो भएको मेलौली नगरपालिकालाई प्रमुख जिल्ला अधिकारी मीना अर्याल र स्वास्थ्य कार्यालयका प्रमुख सुदीप ओखेडाले उत्कृष्टताको प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । 

यस्तै अन्य स्थानीय तहहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको सूचना अधिकारी कार्कीले बताए । 

सबै सरोकारवालाहरुको साथ र सहयोगले स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट हुन सफल भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update