काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका चर्चित विस्फोटक ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।
कर्णाली याक्समा अनुबन्ध भएका ३७ वर्षीय बायाँहाते ब्याटर मिलर बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा उनलाई कर्णाली याक्स स्पोट्र्स प्रा.लीका प्रतिनिधिहरूले भव्य स्वागत गरेका थिए ।
विश्वभरका चर्चित टि–२० लिगहरूमा आफ्नो बलियो छाप छाडिसकेका मिलरले भारतको आईपीएल, अस्ट्रेलियाको बिग ब्यास र पाकिस्तान सुपर लिग जस्ता ठूला प्रतियोगिताहरू खेलिसकेका छन् । आईपीएलमा दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलिसकेका उनले सन् २०२२ मा गुजरातलाई ऐतिहासिक उपाधि दिलाउन निर्णायक भूमिका खेलेका थिए ।
मिलरसँग दक्षिण अफ्रिकाका लागि १४० वटा टि–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएको अनुभव छ । यखभचबिि करियरमा ५८४ टि–२० खेल खेल्दै उनले १२ हजार ४३५ रन जोडिसकेका छन् । सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा शतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका उनले आईपीएलमा बैंगलोरविरुद्ध ३८ बलमै शतक ठोकेका थिए ।
कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्वस्तरीय खेलाडी मिलरको आगमनले नेपाली क्रिकेटको स्तर उकास्नुका साथै देशको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने बताएका छन् ।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएलमा कर्णाली याक्सले अहिलेसम्म ३ खेल खेलिसकेको छ । जसमध्ये जनकपुरलाई १९ रन र विराटनगरलाई ४ विकेटले पराजित गरेको कर्णाली तेस्रो खेलमा काठमाडौँ गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो ।
कर्णालीले आफ्नो चौथो खेल शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ । सो खेलमा डेभिड मिलर मैदान उत्रिने तय भएको छ ।




