बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–२, देहिमाण्डौमा जारी चौथो संस्करणको एबीसी कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज चार खेल सम्पन्न भएका छन् ।
आज भएको पहिलो खेलमा अलराउन्डर एभेन्जर्स २ रनले विजयी भएको छ । एभेन्जर्स र डाँडाबाघबीच भएको खेलमा अलराउण्डर एभेन्जर्स विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अलराउन्डर एभेन्जर्सले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन बनायो । डाँडाबाघले १२२ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ११९ रन मात्र बनाउन सक्यो ।
उक्त खेलमा अलराउन्डर एभेन्जर्सका भास्कर बोहरा २ ओभरमा १४ रन खर्चेर ४ विकेट लिन सफल हुँदै म्यान अफ द म्याच घोषित भए ।
यस्तै दोश्रो खेलमा अलराउण्डर एभेन्जर्सलाई ६ विकेटले हराउँदै दुर्गा भवानीले जित दर्ता गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अलराउन्डर एभेन्जर्सले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनायो ।
दुर्गाभवानीले ९९ रनको लक्ष्य पछ्याउने क्रममा ८.१ ओभरमै ४ विकेट गुमाएर १०२ रन बनाउँदै लक्ष्य पूरा ग¥यो ।
यो खेलमा दुर्गाभवानीका रोशन नाथ उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए । उनले ५३ रन बनाउनुका साथै १ विकेटसमेत लिए ।
यस्तै आजै भएको तेश्रो खेलमा रोयल किंग्सलाई एनवाइसी थान्चौरा विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको एनवाईसी थान्चौराले निर्धारित १० ओभरमा १० विकेट गुमाउँदै १५३ रन बनायो ।
१५४ रनको लक्ष्य पछ्याएको रोयल किङ्सले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सफल भयो । यो खेलमा एनवाईसी थान्चौराका जितु थापा ७४ रनको उत्कृष्ट पारी खेल्दै म्यान अफ द म्याच घोषित भए ।
यस्तै आज भएको चौथो खेलमा एनवाइसी थान्चौरालाई हराउँदै गैरचाडी विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको एनवाईसी थान्चौराले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो ।
१३० रनको लक्ष्य पछ्याएको गैरीचाडीले ७.४ ओभरमै ३ विकेट गुमाएर १३० रन बनाउँदै लक्ष्य पूरा ग¥यो । उक्त खेलमा गौरिचौडीका सुनिल पन्त उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए । उनले १ विकेट लिनुका साथै अविजित ५१ रन बनाए ।
यही कार्तिक १५ देखि शुरु भएको प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख १ सय ११ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोश्रो हुने टीमलाई नगद ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा म्यान अफ दि सिरिजलाई ७ हजार ५ सय नगदसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै बेस्ट ब्याट्सम्यानलाई ५ हजार एक सय नगदसहित ट्रफी र प्रमाण पत्र, बेस्ट बलरलाई ५ हजार एक सय नगदसहित ट्रफी र प्रमाण पत्र र उदयीमान खेलाडीलाई ३ हजार १ सय नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक लवकुशबोहराले बताए ।




